Saturday, December 20, 2014

जितिया पर्व (व्रत)

जितिया पर्व (व्रत) 

२०७०
परिचय:
जितिया पर्व थारु समुदायको एउटा महान पर्व हो । थारु भाषामा एउटा प्रसिद्घ भनाई छ “जितिया पावैन बर भारी ९महत्वपूर्ण०, धियापूता के ठोइक सुतावे अपना ल्या भैर थारी”। यस पर्वलाई जीवतिया वा जीवत्वपूत्रिका व्रत पनि भनिन्छ । यो व्रत महिलाहरु आ-आफ्ना सन्तानहरुको दीर्घायु, सफलता, सुख-समृद्घि, मनोकामना आदि पूर्ण गराउनको लागि लिन्छन् । थारु समुदायमा जब मान्छे मर्नबाट संजोगबस जोगिन्छ अनि भन्ने गरिन्छस् च्वा च्वा बाँचिस्, तिम्री आमाले खरदिन जितिया व्रत  लिएकी थिईन त्यसैले बाँच्यौ ।

 भविष्य पुराणमा उल्लेख भए अनुसार पार्वतीले एकताका महादेवजीलाई सोधिन् हे स्वामी मृतभुवन (पृथ्वीलोकमा महिलाहरुले आ-आफ्ना सन्तानहरुको दीर्घजीवन, सफलता, सुख-समृद्घि इत्यादिको लागि लिइने कुनै व्रतहरुको व्यवस्था छ कि ? भन्ने जावाफमा महादेवजीले यो जितिया व्रत छ भन्नु भयो । महादवेजीले थप के पनि भन्नु भयो भने मृतभुवनमा आश्विन कृष्णपक्ष सप्तमी तिथि शनिवारको लाई, अष्टमी तिथि आइतवार उपवास र नवमी तिथि सोमवार पारण हुने गरि कुनै सन्तानोवती महिलाले नियमनिष्ठा तथा श्रद्घाभक्तिपूर्वक यो जितिया व्रत अर्थात् जिमुतवाहनको पूजा गरियो भने उनका सन्तति दीर्घायु, सफलता, सुख-समृद्घि इत्यादि प्राप्त गर्ने छन्  र यस किसिमले यो व्रत तत्पश्चात् आजसम्म मृतभुवनमा हुंँदै आएको बुझिन्छ ।

अहिले यो जितिया पर्व थारु महिलाहरु लगायत नेपालका तराईदेखि भारत सीमावर्ती क्षेत्रका (खास गरेर विहार, उत्तर प्रदेश, छत्तिसगढ, झारखण्ड, मध्यप्रदेश आदिका) प्राय सबै समुदायका सधवा तथा विधवा महिलाहरु लगभग   ५०-६० लाखको संख्यामा प्रतिवर्ष आ-आफ्नै व्यवहार चलनचल्ती अनुसार आजको तिथिमा बडो श्रद्घाभक्तिपूर्वक यो व्रत लिने गर्दछन् ।

जितिया शब्द थारुभाषा र व्यवहारमा जितर विजय, जितुवा, जितमहान अर्थात् जिमुतवाहनको प्रतीक मानिन्छ । अर्थात् यो व्रत निय-निष्ठा तथा श्रद्घाभक्तिपूर्वक लिइदा उनका सन्तान सधै विजयी हुन्छन् भन्ने जनविश्वास छ ।

भारतीय उत्तरी उपमहादीपमा प्राचीन समयमा शालिकवाहन नाम गरेको एउटा महाप्रतापी तथा महाधार्मिक राजा थिए । उनका मसवासी नाम गरेकी एउटी राजकुमारी छोरी थिइन् । छोरी पनि सुन्दरी मात्रै होइन की बुवा जस्तै महाधार्मिक प्रकृतिकी थिइन । उ प्रतिदिन सूर्योदय अघिनै नदीमा गई नुहाई- धुवाई गरी पूजापाठमा लिन हुन्थिन । यस्तै किसिमले एकदिन उ पूर्णरुपले तरुनी पनि भइन । राजालाई छोरीको विवाहको चिन्ता सताउन थालियो । राजा राजकुमारको खोजीमा लागे । जब यो कुरो राजकुमारी मसवासीको कानमा पन्र्यो अनि राजकुमारी आफ्ना बुवा नजिक गई आफू कुमारी रही यहि साधवीजीवन विताउन विन्ती चढाइन र भनिन् बुवा मलाई राजमहल बाहिर एउटा कुटी बनाई दिनुस्, म त्यही बस्छु र त्यही पूजापाठ गरिरहनेछु । मसवासीको कुरो सुनेर राजा आश्चर्यित भए । राजाले छोरीलाई लाख सम्झाए तर मसवासीले नसुनेपछि मसवासीकै इच्छानुसार राजमहल बाहिर एउटा कुटी बनाई दिए र तत्पश्चात राजकुमारी त्यही कुटीमा बसेर साधु जीवन विताउन थालिन् । मसवासी हरेक दिन सूर्योदय अगाडिनै नदीमा गई नुहाईधुवाई गरी पूजाआजामा व्यस्त हुन्थिन्, यही नै उनको दिन चर्चा थियो ।

एक दिन, दैवसंयोग मसवासीलाई विहान उठ्न ढिलो भयो । उनी नदीमा पुगी नुहाई नदीबाट आश्रममा फर्किदा सूर्य उदाई सकेको थियो । सूर्यको प्रकाश उनको शरीरमा फिजी सकेको थियो जसले गर्दा मसवासी गर्भवती भईन । केही महिनापछि यो कुरो धेरै जसोले थाहा पाए । एक कान दुई कान मैदान । मसवासी गर्भवती भएको कुरा राजाको कानमा पुग्यो । राजा रिसले आगो भए । तर के गर्ने ? अनेकन गालीगलौज र तर्क वितर्कपछि अन्तमा मसवासीले एउटा छोरालाई जन्म दिइन् । छोराको नाम जितुवा थियो । जितुवा अत्यन्त बिलक्षण प्रतिभाका थिए । जितुवाको जस्तो नाम उस्तै काम पनि थियो । उ आफ्ना साथीहरुलाई जेमा पनि जिति हाल्थे । जसले गर्दा सबै साथीहरु जितुवालाई डाहा गर्दथे र मनमनै अनेर्वा (बुबा नभएको) भनेर जितुवालाई गाली गर्दथे ।

जितुवालाई जित्न उसका साथीहरुले एक दिन अन्धाअन्धीको खेल खेल्न एउटा योजना बनाए । यो छलरुपी खेलको नियम थियो कि आमाको नाम लिएर खेलरुपी घरभित्र पस्ने र बुबाको नाम लिएर घरबाट बाहिर निस्कने । जितुवाले सोच्नै नपाई खेलमा भाग लिहाले । अन्धाअन्धी खेलको कोठा कोरियो । सबै साथीहरु आमाको नाम लिएर घर भित्र पस्थे, बुबाको नाम लिएर बाहिर आउंथे । जितुवा पनि आमाको नाम लिएर खेलको घरभित्र पसे तर बुबाको  नाम न आएर बाहिर आउँन सकेन, उ भित्रको भित्रै हुने भयो । साथीहरु सबै गिज्याउँन थाले । ल हेर यो त अनेर्वा पो रहेछ । पछि मसवासीलाई यो कुरो थाहा भयो र उ त्यहाँ आई तिम्रो बुबाको नाम सूर्य हो भनी जितुवालाई सूर्य भन्न लगाई जितुवा घर बाहिर आयो ।

तर जितुवालाई विश्वासै भएन, रातमा नसुती तर्क वितर्क गर्दै आमानिर आई भन्यो− आमा मेरो सिधासामलको व्यवस्था गरिदिनुस् , म बुबालाई भेट्न जान्छु । अब मसवासीलाई अप्ठयारो भयो । उसले छोरोलाई धेरै सम्झाईन तर जितुवा आफ्नो हठ छोडेन । अन्तमा मसवासीले सिधासामल ठीक पारीदिइन् । छोरो जिुतुवा बुबालाई भेट्न प्रस्थान गर्यो । केही दिनको बाटो हिडिसकेपछि सूर्य भगवानले विचार गर्न थाले कि म कहाँ आए पछि त मेरो  जितुवा डढेर भष्म भई हाल्छ । त्यसकारण सूर्यदेव आफै मानिसकोरुपमा जितुवा तिर हिडीं जितुवालाई दर्शन दिए र सोधे− तिमी कहाँ हिडेको ? जितुवाले भन्यो सूर्य मेरो बुबा हो म वहाँलाई भेट्न हिडेको छु । त्यो मानिसले धेरै सम्झाए कि त्यहाँ नजाउ, डढेर मरीन्छ । तर जति सम्झाउँदा पनि जितुवाले नसुने पछि, अन्तमा ती मानिसले भने बाबु तिम्रो बुबा सूर्य म नै हुँ, तिमीलाई नै दशर्न दिन तिमी कहाँ आएको हुँ, ल अब फर्क घर जाउ ।

सूर्यको यो कुरो सुनेर जितुवाले भने ल ठीक छ, मैले बुबालाई भेटे अब घर फर्कन्छु तर यो कुरो कसले विश्वास गर्ला ?  त्यसकारण म घर फर्किदिन । अन्तमा सुर्यदेवले भने म तिमीलाई आशिर्वाद दिन्छु, आजबाट तिमी जितुवा होइन, जितमहान् भयौ । तिमी मृतभुवनमा फर्क, त्यहाँ प्रचारप्रसार गर कि अबदेखि अर्थात् आश्विन कृष्णपक्ष सप्तमी तिथि शनिवारको लाइ अष्टमी तिथि आइतवार उपवास र नवमी तिथि सोमवार पारण हुने गरि कुनै सन्तानोवती महिलाले नियमनिष्ठा तथा श्रद्घाभक्तिपूर्वक जितमहानको पूजा अर्थात् यो जितिया व्रत सम्पन्न गर्ने हो भने उसका सन्तति दीर्घायु हुनेछन, सफल धन्यधान्यपूर्ण तथा विजयी हुनेछन् ।

अब, जितुवा बुबाबाट यस्तो शुभआशीर्वाद प्राप्त गरि हाँसीखुशी घर फर्के र यी सबै वृतान्त आमा मसवासी र हजुरबुबा राजा शालीकवाहनलाई सुनाए । राजा बडो खुशी भए र यो व्रत लिन राज्य भरी सूचना गर्न आदेश दिए र तदअनुरुप सबै विवाहित महिलाहरुले नियमनिष्ठा तथा श्रद्घाभक्तिपूर्वक यो व्रत लिन थाले ।

व्रतको महत्व:
एक समयको कुरो हो । नर्मदा नदीको दक्षिण दिशामा कन्कावती नामक शहर थियो । यो शहर धन्यधान्यपूर्ण थियो । त्यहाँ राजा मलयकेतु राज्य गरिरहेका थिए । त्यहाँका महिलाहरु यो जितिया व्रत लिनलाई नदीमा नुहाउँन नर्मदा नदीको शर्वदा घाटमा भेला भएका थिए । त्यही नदीको किनारमा एउटा युगपाकैरको ठूलो रुख थियो । रुखको टुप्पोमा एउटा चील र रुखको धोधरमा एउटा सियाल्नी बसिरहेका थिए । तिनीहरु धेरै समयसम्म सँगै बस्दाबस्दै उनीहरु बेजातको हुँदांहुंँदै पनि तिनीहरुमा गहिरो मित्रता थियो ।

नदीमा महिलाहरुको भिडभाड देखेर यसको रहस्य बताउन सियाल्नीले चीललाई अनुरोध गरिन् । चीलले सबै कुरो भन्यो त्यसैले शहरका सबै महिलाहरुले यो जितिया व्रत लिन नदी घाटमा भेला भएका छन् । यी सबै कुरो थाहा भएपछि सियाल्नीले प्रस्ताव राखिन कि त्यसो भए हामीहरुले पनि यो जितिया व्रत लिउ । चील ज्ञानी थिइन, उनले स्वत: व्रत लिने प्रस्ताव स्वीकार गरीन ।

घाटबाट महिलाहरु घरफर्के पछि चिल र सियाल्नी घाटमा पुगेर महिलाहरुले छाडेका पूजन सम्रगीहरुबाट चील र सियाल्नीले पनि नदीमा नुहाई व्रत लिए । दिन बडो खुशीपूर्वक बिताए । राती दर खाए । अष्टमी तिथिको पनि फेरि शहरका महिलाहरु घाटमा आई विधिपूर्वक जितमहानको पूजाआजा तथा जितिया कथा श्रवणगरी त्यस दिनको व्रतको सबै प्रकृया सम्पन्न गरी आ-आफ्ना घर फर्के । चील र सियाल्नीहरु पनि रुखमा लुकि लुकि विधिवत जितिया कथा श्रवण गरी त्यस दिनको व्रतको सबै प्रक्रिया पूरा गरे ।

राती भयो । भोक पनि त्यतिकै बढी लाग्दै आयो तर दुर्भाग्यको घटना के भयो भने त्यही राती शहरको एउटा सेठको बच्चाको मृत्यु भयो । मानिसहरु मरेको बच्चा त्यही नदीको छेउमा आएर गाडेर फर्के । सियाल्नी यी सबै कुरो हेर्दै थिईन । एकातिर दिनभरिको भोको, अर्कोतिर नजिकै बच्चा गाडिएको, यी कुराहरुले गर्दा सियाल्नीको मुखमा पानी आउन थाल्यो । सियाल्नीले घरीघरी चील सुतेको छ कि छैन भनि जाँच गर्नका लागि, मित्र सुत्नु भयो ? सोधिन् । एक पटक, दुई पटक चीलले सुतेको छैन भनिन् तर पटकपटक यसरी सोधिराख्दा चीललाई शंका भयो र त्यसपछि चीलले केही न बोल्दा सियाल्नीले सोचिन की चील सुत्यो र यै मौकापाई मरेको बच्चा नजिक गई खुब मासु खाई लुकीलुकि आई धोधरमा सुतिन र विचार गरिन की चीललाई यो कुरो थाहा भएन तर चील यी सबै कुरो हेरिरहेको थियो ।

बिहान भयो । नवमी तिथिमा फेरि नगरकी व्र्तालु महिलाहरु नदी घाटमा आइ नुहाइधुवाई गरी विधिपूर्वक जितमहानको पूजापाठ गरी अकुरी अजिगर खाई पारणको काम सम्पन्न गरीन आ−आफना घर फर्किन । महिलाहरु आ−आफना घर फर्के पछि फेरि चील र सियाल्नीहरु पनि नदी घाटमा पुगी नुहाइधुवाई गरी व्रतालु महिलाहरुले नदी घाटमा छाडेका पूजन सामग्रीहरुबाट व्रत समापन्नका नियमपूर्वक पारण गरी व्रत सम्पन्न गरीन ।

सियाल्नीको व्रत भ्रष्ट भयो भन्ने कुरो त चीललाई राम्ररी थाहा थियो । एक दिन दुबै जना आफ्ना व्रतको जाँच गर्न कुम्भ मेला भर्न गए र त्यही दुबै जना यो शरीर त्याग गरे तर यो व्रतले गर्दा दुबै जना अर्को जन्ममा दिदी बहिनी जुम्ल्हाकोरुपमा मानिस तनमा एउटा महाबेदक ज्ञाता भास्कर ब्राहमणको घरमा जन्म लिए । चील, जेठी दिदी सोमता / शिलाबती भइन भने सियाल्नी कान्छी बेमता/ कर्पूराबती भइन् ।

कालक्रम अनुसार दुबै ठुला भए र शिलाबतीको विवाह महामत्तम नामक एउटा ठूलो धनी मानिससँग भयो भने कर्पूराबतीको विवाह मलयकेतुको महाराजसँग भयो । शिलावतीको पूर्व जन्मको जितिया व्रतले गर्दा सातवटा छोरो पाईन र सातैवटा जिवीत थिए भने कर्पूराबती जति बच्चा पाईन सबै मृत हुँदै गए, यसले गर्दा दिदी शिलाबती पनि धेरै दु:खी थिइन । यता कर्पूराबती दिदीको सबै छोराहरु जीवित देखेर डाहा गर्थिन । जसले गर्दा उ जितिया व्रत दिन खटपरन लिइन र आफनी नोकर्नी मार्फत राजालाई सन्देश पठाइन कि जबसम्म राजाले मैले भनेको कुरो गर्न सत गर्दैनन् तबसम्म म उठ्दिन ।

राजा रानीको हठमा परी गर्ने सत गन्यो र सो अनुसार शिलाबतीको सातवटै छोराको घाँटीकाँटी सातवटै नयाँ डालोमा नयाँ लुगामा बाधेर शिलाबतीको घर पठाई दियो । यो देखेर शिलाबतीको घरमा पनि रुवावासी होस् तर स्थिति अर्कै भयो । डालोमा पठाएका सबै टाउकाहरु शिलाबतीको पुर्वजन्मको सफल जितिया व्रतले गर्दा नरिवलको फल भए र शिलाबतीको घरमा रुवावासी होइन की हाँसीखुशीको वातावरण बन्यो । यो थाहा पाएर कर्पूराबतीले दिदी शिलाबती ठूलो बोक्सीनी हो, उसैले मेरा छोराहरुलाई खाईन भने अनेक दोषारोपन गर्दै न्याय माग्न थालिन । उसलाई कडा भन्दा कडा दण्ड माँगीन । जसले गर्दा शिलाबतीलाई बोलाइयो । शिलाबतीलाई पूर्वजन्मका सबै कुरा थाहा थियो । उनले सबै कुरो पञ्चहरुलाई भने र विश्वास हुँदैन भने  गाईको गोबर मगाउनुस्, लिपपोत गर्नुस् र हामीहरुलाई व्रत लिँदा खाएका कुराहरु ओकल्न भन्नुस् । अन्तमा त्यस्तै गरियो र शिलाबतीले पारणको समयमा खाएका अक्षताहरु ओकले भने कर्पूराबतीले मानिसको मासु ओकले ।

पञ्चहरुको चित बुझयो । दिदी शिलाबतीले बहिनी कर्पूराबतीलाई पूर्वजन्मका सबै कुराहरु घटनास्थलमा लगी सबैथोक देखाईन र यसैले गर्दा तिम्रा पूत्रहरु मर्दै गए र मेरा जिवीत छन् । यो जितिया व्रतकै फल हो र अन्तमा यी कुराहरु थाहा पाई कर्पूराबती दुु:खी भइन र् त्यही शरीर त्याग गरिन् । राजा घर फर्केर आफ्ना राज्यपाट संचालन गर्न थाले ।

पूजन विधि:
व्रत लिने समय र जन विश्वास एउटै हुँदाहुँदै पनि पूजन विधि ठाउँ तथा समुदाय अनुसार अलिकति फरक देखिन्छ । थारु समुदयमा लाईको दिन महिलाहरु नदी वा पोखरीमा गई साथमा लगेकी धुपबती, तोरीको तेल र पिना, घिरौलाको पात र फूल तथा चिम्टयाइलो माटो मध्ये पहिले तोरीको तेल र चिम्टयाइलो माटो  कपालमा दली नुहाउँछन् र फेरि ती सामाग्रीहरुबाट जितमहानको पूजा गरिन्छ अनि फेरि राम्ररी नुहाई घर फर्की त्यस दिनको दिउँसो र रातीमा साधारण खाना खाइन्छ भने त्यस रातको अन्तिम पहरमा सप्तमी तिथि भित्रै जितमहानलाई चिउरा, दही, केरा, मिठाई चढाई माछा तथा अरु विशेष परिकारका साथ दर खाने गरिन्छ ।

 अर्को दिन अष्टमी तिथिमा सबै ब्रतालु महिलाहरु पूजन सामग्रीहरु (बिषमान को पात, मानको पात, अंकुरी, अजीगर, गेहुमा धान, जितिया फूल, घेराको पात, घेराको फूल, कचनाइरको फूल, पहेलो र कालो दुइदुइवटा झण्डाहरु, केरा, सिकीको धनुष र वाण, धानको मैर, केरा छायाको घोडा आ-आफ्ना डालोमा सजाएर राखी जितिया कथा वाचकले भनेको स्थानमा जम्मा भई त्यहाँ सानासाना पोखरी तयार गरी त्यसमा पानी राखी सबै कुनामा कालो र पहेलो रंगका झण्डाहरु गाडिन्छन् र डीलमा एउटा पाकैरको पात सहितका साना हाँगा गाडिन्छ, उसको माथिल्लो भागमा चील र फेदमा सियाल्नीको माटोको मूर्ति बनाई दुबैको निधारमा सिंदुर लगाई पानी युक्त कलसमा कपडा बेरी कुशको जितमहान स्थापना गरिन्छ र कथा वाचकको निर्देशनअनुसार कथाको सँगसँगै बिचबिचमा डालोमा भएका विभिन्न पूजन समाग्रीहरुले किहिले सूर्यको त कहिले जितमहानको,  त कहिले गरुड, चील, सियाल्नी आदिको गरी ६ पटक पूर्व फर्केर पूजा गरिन्छ, अनि अन्तमा जितमहानको आरती भजनभाव गरिन्छ, व्रतालु महिलाहरु मुखमा पानको पातराखी कुशको तिखो टुप्पोबाट कुनै साधवा अखर कोखवाली छोरा पाएका महिलाहरुबाट तीन पटक दात कोट्याउँने गरिन्छ, भाईहरुले व्रतालु दिदी बहिनीहरुलाई सिकीको धनुष र सिकीकै बाणले तीन पटक पिठ्यूमा हान्ने गरिन्छ (नयाँ व्रतालुहरुको हकमा) र व्रतालुहरु कथा वाचक, भाईहरु र दांत कोट्याई दिने महिलाहरुलाई प्रशस्त दक्षिणा दिई त्यस दिनको पूजा सम्पन्न गरिन्छ र आफ्ना सबै समानहरु डालोमा राखी आ-आफ्ना घर फर्किन्छन् ।

अन्तिम दिन, व्रतको तेश्रो दिन अर्थात् नवमी तिथिमा महिलाहरु एकाबिहानै उठी घर आँगन सफा गरी गाईको गोबरले आँगन लिपपोत गरिन्छ । व्रतालु महिलाहरु पहिलेका पूजा सामग्रीहरु नदीहरुमा प्रवाह गरी नुहाईधुवाई गरी पारवनको लागि पूजा सामग्रीहरु फेरि डालोमा तयार गरिन्छन्, आँगनमा चिम्टयाईलो माटोले चौका गरिन्छ , तोरीको तेल र सिन्दुरले दुईवटा ठाडो धर्का कोरिन्छ, बीचमा पानको पात राखी त्यसमाथि अक्षता, तुलसीको पात,  सुपारी, दही, चिउरा, बौटरा (केराउ), जितिया फूल चढाउँछन् । घर देवताहरुमा पनि पूजा, धुपदीप तथा नैवेदहरु चढाइन्छ । यस किसिमले व्रतालुहरु विधिपूर्वक जितमहानको पूजा गरी देब्रै हातको कान्छी औंला र बुढी अौलाको सहायताले गौरा खर सानो-सानो टुक्रा भाँची क्रमश: पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशातिर ति-तिन पटक फाल्ने गर्छन् । पूजामा जलधार गरी पाँचवटा बौटरा, पाँचवटा अक्षता दातले नटोकी निल्ने गरिन्छ, अनि अलिकति चिउरा र दही खाने गरिन्छ र यसरी यो सालको लागि ब्रत अन्त्य हुन्छ । फेरि हाँसीखुशी तथा खानपीन सुरु हुन्छ ।

उपसंहार:

यो जितिया पर्व भाइबहिनी बीचको स्नेहपूर्ण मिलन हो भने दुई कुटुम्ब र अन्य नातेदारहरु बीचको सम्बन्ध प्रगाढ बनाउने एउटा माध्यम पनि हो । संसारका जति पनि उत्पतिहरु छन्, सबैको बीचमा सम्बन्ध जोडिएको हुन्छ र कुनै एकको बिनाश भएमा त्यसको असर सबैलाई पर्छ भने सन्देश यो जितिया पर्वले दिने गरेको छ । यस कथामा आमा र सन्तान बीचको पनि घनिष्टता दर्शाएको छ भने कुनै पनि काम निष्ठा तथा नियम पुर्वक विधि पुर्याएर गरेमा सफलता अवश्य हात पर्छ भन्ने कुराको जानकारी समेत गराएको छ । कथाको अर्को पक्ष सबैले मिलेर बस्नु पर्छ, कसैले पनि घमण्ड गर्नु हुँदैन किनकि यस संसारमा वीर भन्दा पनि वीर छन् । त्यसकारण यस पर्वको पौराणिक कालमा जति महत्व थियो आज यसको महत्व झन बढेर गएको  फलस्वरुप यसले मानवलाई सधैं सचेत गराइ रहन्छ ।

समाप्त्

No comments:

Post a Comment