नेमान
परिचय
नेमान पर्व मध्य र पूर्वका थारुहरुका संस्कृतिहरुमध्ये एउटा महत्वपूर्ण संस्कृति हो । थारुहरुका संस्कृतिहरु खास गरेर थारुहरुका उत्पतिदेखि उनीहरुका घर-व्यवहार, व्यवस्थापन तथा पेशाहरुलाई बढी ईगित गरीराखेको बुझिन्छ् । प्राय: यो पर्व थारुका पेशाहरुसंग सम्बन्धित संस्कृतिहरु मध्ये कृषिसंग बढी आबद्ध भएको बुझिन्छ ।
नेमान पर्व थारु समुदाय र यस समुदायका वरपरका कृषि पेशासंग सम्बन्धित अन्य समुदायहरुले पनि मान्दछन् तर उनीहरुले मनाउने तौर-तरीका धेर-थोर थारुहरुको भन्दा अलिक फरक हुन्छ ।
नेमानको थारुभाषामा सामन्य अर्थ चाख्नु वा नयाँ अन्नलाई पूजा गर्नु भएतापनि यो अर्थले नेमानको सारगर्भिता पष्टरुपमा झल्काउन असमर्थ देखिन्छ । चाख्नु के?, नयाँ वा पुरानो, अर्थ पष्टरुपमा बुझिदैन साथै व्यवहारमा नयाँ अन्नलाई पूजा गरिएको पनि देखिदैन । यसर्थ, अर्को किसिमले नेमानको सारगर्भित अर्थ बुझ्न हामी के भन्न सक्छौ भने नेमान थारुभाषाका ने र मानू दुई शब्दहरु मिलि बनेको साँस्कृतिक शब्द हो । जहाँ ने को अर्थ नयाँ र मानको अर्थ महत्व, आदर, सत्कार, मान तथा पूजा हो । यसरी नेमानको शाब्दिक अर्थ नयाँ अन्नलाई एउटा उत्सवकोरुपमा हर्षोल्लाशकासाथ विधिपूर्वक आगो (विष्णु भगवान) र घरका देउतालाई चढाएर भक्षण गर्नु, चाख्नु अर्थात् खानु वा नयाँ अन्न खान शुभारम्भ गर्नु हो । थारु समुदायमा यो नेमान पर्व अघि यस वर्षको भदैया वा अन्य उन्नत जातकावालीहरु बाहेक अरु स्थानीय जातका कुनै नयाँ अन्नवाली खाने चलन छैन् ।
थारु समूदयमा यो पर्व खास गरेर कलियाहा थारुहरु कार्तिक महिनामा र महर्षिया थारुहरु अगहन महिनामा शुभ दिन, तिथि र नक्षत्र विचार गरी मनाउने चलन छ । कार्तिक महिनामा (गते अनुसार) सम्पन्न गर्ने नेमानलाई थारुभाषामा कैतिकीू नेमान भन्ने गरिन्छ भने अगहन महिनामा सम्पन्न गर्ने नेमानलाई 'अगहनी' नेमान भन्ने गरिन्छ । यस किसिमले कलियाहाले गर्ने नेमानलाई कैतिकी नेमान र महर्षियाले गर्ने नेमानलाई अगहनी नेमान भने गरिन्छ ।
पर्व दिन
मुठी लिनु र धान्य छेदन मुर्हुत मुठी लिनु पनि कृषि कर्मको एउटा महत्वपूर्ण पक्ष भएकोले यहां यसवारे चर्चा गर्नु उचित देखिन्छ । यो कर्म नेमान भन्दा अलिक फरक हो । मुठी लिनको लागि नेमान जस्तो यसमा कुनै ठूलो उत्सव मनाउने चलन छैन तर कुनै-कुनै बेला यी दुइटै पर्व मुठी लिनु र नेमान संगसगै पनि हुन् सकिन्छ । मुठी लिनु पर्व भनेको खेतमा बाली पाकिसकेपछि बाली नष्टहुनु भन्दा भित्रयाउनु हो । यसरी पहिले-पहिले बाली कांट्ने मुहुर्तलाई थारुभाषामा मुठी लिनु भनिन्छ भने नेपाली भाषामा धान्य छेदन मुर्हुत भनिन्छ । तर पहिले-पहिले यो बाली कांट्ने कर्मको लागि शास्त्र पूराण अनुसार सबै दिन, सबै तिथि तथा सबै नक्षत्र शुभ हुंदैन । अशुभ समयमा काँट्दा अनिष्ट पनि हुन सक्छ । त्यसकारण शुभ दिनमा यो कर्म सम्पादन गर्नु उचित हो ।
यो मुठी लिने काम शास्त्र अनुसार शुक्लपक्षको वारमा शनिवार र मंगलवार तथा तिथिमा चौठ, नवमी, चतुर्दशी छाडी बांकी दिन र तिथिको भरनी, कृतिका, मृगशिरा, आद्रा, तृष्य, अषलेखा, मघा, उत्तरा, हस्त, चित्रा, स्वाती, जेष्ठा, मूल, श्रवणा र धनिष्ठा नक्षत्रहरुलाई शुभ मानेर यी नक्षत्रहरुमा मुठीलिईन्छ ।
नेमान मुहुर्त
मुठी लिनु जस्तै नेमान मुहुर्त पनि शुक्लपक्षमा वारमा शनिवार र मंगलवार तथा तिथिमा षष्ठी, एकादशी र परिवा तिथिको खालि घडी छाडेर बांकी दिन र यी उपरोक्त तिथिहरुका बांकी समय तथा अन्य तिथिहरुको अश्वनी, मृगशिरा, पुनर्बशु, तिष्य, हस्ता, चित्रा, स्वाती, अनुराधा, अभिलेषा, श्रवणा, सतभिषा र रेवती नक्षत्रहरुमा नयाँ अन्न खानु शुभ हुने भएकोले यी उल्लेखित नक्षत्रहरुमा नेमान गरिन्छ तर कार्तिक शुक्ल पक्ष द्वादशी दिन नेमान गर्दा यस दिनलाई साइत हेर्नु पर्दैन । त्यसकारण समाजमा भनाई छ 'नेमान करी शुभ दिन, कार्तिक शुक्ल पक्ष द्वादशी दिन । कृणपक्षमा मुठी लिईने र नेमान केही पनि हुँदैनन् ।
मनाउने विधि
यो नेमान पर्व सुकराती र तिहारसंग पनि सम्बन्धित छ । किनकि, यो नेमान पर्व मान्न सुकराती अर्थात् तिहारमा गोवर्धन पूजाको दिन पूजाको लागि गोठमा गोबरबाट बनाइराखेको गोदहैनी (गोबर्धन)लाई पूजाको दिन पूजा आजा गरी अर्को दिन नेमान पर्वको लागि त्यस गोबरबाट चिपडी अर्थात् गोइठा बनाई सुकाई राखेको हुन्छ र नेमान पर्वको दिन यो पर्व मान्न यो सुकाई राखेको गोइठालाई आगो बाल्नमा प्रयोग गरिन्छ । यो आगो झुल-चकमकको मदतबाट निकालेको हुन्छ र त्यही आगोबाट त्यसदिन पूजा-आजादेखि भान्छा इत्यादिका सम्पूर्ण काम सम्पन्न गरिन्छ ।
यो पर्व मान्न पर्वको दिन महिलाहरु बिहानैदेखि घर-आँगन सफासुग्घर तथा गोबर र माटोले लीप-पोत गरिन्छ र पुरुष मान्छेले बिहानै खेतबाट नेमानको लागि उतर मुख फर्केर स्थानीय (अगहनी) जातका तीन मुठा धानका बालाहरु फेदबाटै कांटेर घर ल्याई एउटा सफा नाँग्लो इत्यादिमा राखिन्छ । त्यसपछि वालाहरुबाट धानका दानाहरु छुट्याईन्छ र एकजना महिला नुहाई-धुवाई गरी ल्याईएको काँचो धान मध्ये केही धानलाई ओखलमा हाते मुसलले कुट्टी त्यसबाट आवश्यतानुसार पिठो तयार गरिन्छ र त्यस पिठोमा गुड(सकर) मिसाई देउतालाई चढाउनका निम्ति त्यसबाट गुडा तयार गरिन्छ र बांकी धानलाई नयाँ आगोमा भुटी, भुटेको धानलाई ओखलमा राखी हात्ते मुसलले कुटी यसबाट चिउरा तयार गरिन्छ र चिउरालाई पनि सफा गरी केही चिउरा फेरि आगोमा भुटिन्छ र भुटेको चिउरालाई फेरि ओखलमा राखी हात्ते मुसलले कुटी आवश्यकतानुसार चिउराबाट पिठो बनाइन्र्छ र त्यसमा गुड(सकर) मिसाई चढाउनका निम्ति त्यस पिठोबाट लडु तयार गरिन्छ जुन लडु र गुडा नयाँ आगो बालेको घुरदेखि घर देउताहरुलाई त्यस दिन पूजाको रुपमा चढाउने गरिन्छ । यस किसिमले यो दिन बिहान नेमानको लागि पूजाको रुपमा चढाउने सामग्रीहरु तयार गरिन्छ ।
सबै सामग्रीहरु तयार भइसकेपछि परिवारको मूली (मालिक) नुहाईधुवाई गरी पूजाको लागि घरमा देउता अगााडि लीपपोत गरिन्छ तथा आँंगनमा घुर बालने ठाउंँमा पनि लीपपोत गरिन्छ र त्यसपछि महिलाहरुले पीठार र सिंदुर लगाई चौका बनाई पूजाको लागि तयार गरिन्छ । त्यसपछि पूजा गर्नेले पूजा स्थलहरुमा दियो बाल्छ, धुप बाल्छ र केराका पातहरु सबै ठाउँमा राखी त्यसमा नयाँ चिउरा, दही, लडु, पान, सुपारी, गुडा इत्यादि चढाइन्छ र परिवारका अन्य सदस्यहरु पनि गुडा हातमा लिई आगो (विष्णु) भगवानलाई चढाई ढोगी त्यति खेरै केही गुडा चाख्ने गरिन्छ र अन्तमा सबै सदस्यहरु गुडा चढाई सकेपछि पूजामा जल चढाई ढोगने गरिन्छ र त्यसपछि पूजा सामग्री उठाई प्रसादीहरु सदस्यहरुमा वितरण गर्ने गरिन्छ तर दिनभरि घुरको आगो निभ्नु हुँदैन । राती फेरि त्यही आगोले बती बाल्ने, धुप दिने र भान्सा पकाउने चलन छ । आजैको दिन दाँईको लागि मेहु गाडिन्छ । आजको दिन यो पर्व भएको घरबाट अरुलाई केही पनि दिइदैनन् ।
साथसाथै त्यस दिन विभिन्न परिकारकासाथ मिठा-मिठा खाने कुराहरु - कालो दाल, तरुवा-भुजिया, माछाको सिद्रा, आचार ईत्यादि तयार गरिएका हुन्छन् र दिउँसो गाउँका भरभलादमी, इष्ट-मित्र तथा छर-छिमेकिहरुलाई ल्याई मिठो-मिठो खुवाउने गरिन्छ र बेलुकि फेरि त्यसै आगोबाट बत्तीहरु वाल्ने, धुपबाल्ने र भान्सा समेत पकाउने गरिन्छ । अर्को दिन घुरमा रहेका सबै थोक जल प्रवाह गरी यो पर्व सम्पन्न हुन्छ र त्यसपछि नयाँ अन्न खाने कुरोमा यसरी ढुक्क हुन्छ ।
उपसंहार
करिब-करिब जुनसुकै संस्कृति केही न केही सामाजिक व्यवहारहरुलाई इंगित गरिरहेको हुन्छ । थारुहरुको यो नेमान पर्व पनि एक किसिमको सामाजिक पात्रो हो । अर्थात् कहिले के गर्ने ? कसरी गर्ने ? कुराहरु बताई राख्नुको साथै सामाजिक कुराहरु पनि सिकाई राखेको हुन्छ । मानिसहरु यसले गर्दा यसको वास्तविक अर्थ थाहा हुँदा नहुँदां पनि यसबाट लाभान्बित भई रहेका हुन्छन् । तर अहिले यो वर्तमान समयमा नेमान पर्व लोप हुने स्थितिमा आईसकेको छ । यसको अर्थ यो होईन कि यो पर्व समाजको लागि अहित्कर हो । प्रमुख समस्या के हो भने यो पर्व खास गरेर अगहनी धान अर्थात् स्थानीय धानका जातसंग मनाउने गरिन्छ जुन जात करिब-करिब अहिले लोपोन्नमुख अवस्थामा रहेको छ । त्यसकाण यो पर्वलाई जीवन्त राख्न अहिले जस्तो स्थानीय जात मात्र होईन कि विकासी जातका धानलाई पनि विकल्पमा स्थान दिनुपर्छ । अहिले मानिसहरु पूजा-आजाको लागि केवल अगहनी धाननै प्रयोग गर्दछन् तर यदि यो अगहनी धान लोप भयो भने के मानिसहरु पूजापाठ पनि बन्द गर्लान्रु ? पक्कै होइन, त्यसकारण पूजा (नेमान) गरेर विकासी धानलाई पनि चोख्याएर संस्कृति जीवन्त राख्नु कुनै गलत कुरा हुँदैन ।
श्रोतव्यक्तिहरु: श्री रामअवतार शरण, श्री दुर्गा प्रसाद चौधरी, श्री लक्ष्मी प्रसाद चौधरी, श्री बन्धुलाल चौधरी, श्री बुधसेन चौधरी, श्रीमति तारावती चौधरी ।
२०७० साल
समाप्त
No comments:
Post a Comment